काठमाडौं, मंसिर ११ । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको वाग्मती प्रदेश सभापति पदमा उमेदवारी घोषणा गरेको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले उमेदवारी घोषणा गरेका हुन्।
कांग्रेस केन्द्रीय सदस्य तथा काभ्रे पूर्वजिल्ला सभापति शिव हुमागाईंले उनलाई वाग्मती प्रदेश सभापतिमा प्रस्ताव गरे।
वि.सं. २०३३ सालदेखि राजनीतिमा सक्रिय उनी हाल काठमाडौं क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सांसद हुन्। एकपटक रक्षामन्त्री भइसकेका उनी प्राध्यापक संघका पूर्वसभापति पनि हुन्।
उनी पार्टीको १२औँ अधिवेशनबाट काठमाडौं जिल्ला सभापति बनेका थिए। १३औँ महाधिवेशनमा पनि जिल्ला सभापति लडेका उनी कृष्ण (सबुज) बानियाँसँग पराजित भए।
हाल उनी कृष्णप्रसाद सिटौलानिकट नेता हुन्। उनी सिटौलाका विश्वासपात्र मानिन्छन्।
पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशन यही १६ र १७ गते हेटौँडामा हुने तय छ। प्रधानले सभापतिमा उमेदवारी घोषणा गरे पनि टिमबाट अन्य पदमा को लड्छन् खुलाइएको छैन।
“सभापति आज घोषणा गरेँ, अन्य पद र संस्थापनसँग एलाइन्सको विषयमा पनि छलफल भइरहेको छ,“ उनले भने।
काठमाडौं जिल्लाको अधिवेशनमा सिटौला-देउवा गठबन्धन भएको थियो।


























