काठमाडौं, भदौ २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले एमसीसी पारित गर्नुपर्छ भनेको भनी आफूविरुद्ध कुप्रचार गरिएको बताएका छन्।
उनले एमसीसी पारित गराउन लागि परेका दलालहरुले आफूविरुद्ध कुप्रचार गरेको बताएका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा एक वक्तव्य जारी गर्दै नेता रावलले भनेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनि कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्।’
नेता रावलले आफूले देशभक्तिपूर्ण अडान कहिल्यै नछाड्ने दृढता पनि व्यक्त गरेका छन्।
‘भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन’, रावलले भनेका छन्।
शुक्रबार सकिएको नेकपाको स्थायी कमिटि बैठकले परिमार्जनसहित एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।
के-के कुराहरु र कुन-कुन बुँदाहरु परिमार्जन गर्ने भन्नेमा छलफल गर्न बाँकी नै रहेको श्रेष्ठले बताएका थिए।
रावल एमसीसी राष्ट्रघाती रहेको भन्दै त्यसका कतिपय बुँदाहरु परिमार्जन गरेर मात्रै पास गर्न सकिने अडान व्यक्त गर्दै आएका नेता हुन्।
रावल पनि सदस्य रहेको महासचिव विष्णु पौडेल नेतृत्वको विवाद समाधान कार्यदलले एमसीसीका केही बुँदा परिमार्जन गरेर पास गर्नुपर्ने प्रतिवेदन तयार पारेको थियो।


























