काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन्। मंगलबार बालुवाटारस्थित निवासमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा महावीर पुनसँग भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले विज्ञान, प्रविधिको विकासमा जोड दिनुपर्ने बताएका हुन्। त्यसका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री दाहालले सकारात्मकता देखाएका छन्।
विज्ञान, प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री दाहालले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्ने विषयमा पनि ध्यान केन्द्रित भएको बताए। यो गुग नै विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि वैज्ञानिक विकास अपरिहार्य रहेको उनको भनाइ छ।
आविष्कार केन्द्रका प्रमुख डा पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो। कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै डा पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।