काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस गठबन्धन टुटाउने पक्षमा नरहेको बताएका छन्। आगामी पाँच वर्षसम्मकै लागि आठ दलीय गठबन्धनमा भएको सहमतिअनुसार अगाडि बढ्ने उनले दाबी गरे। राष्ट्रपति निर्वाचनको सन्दर्भमा शुक्रबार आयोजित संयुक्त गठबन्धन दलहरुको अभिमुखिकरणका क्रममा नेता थापाले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट पारे।
‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘किनकि कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध छ।’
महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको समेत बताए। उनले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् बिस्तारको काम अघि बढ्ने समेत बताएका छन्।