चितवन । नयाँ पुस्ताको आन्दोलनका क्रममा चितवनमा ९८ वटा संरचनामा क्षति पुगेको जिल्ला सुरक्षा समितिले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सुरक्षा समितिका संयोजक गणेश अर्यालका अनुसार प्रदर्शनकारीले ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी संरचना र तीन वटा राजनैतिक दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले करिब २०० राउण्ड ब्याङ्क तथा रबरका गोली प्रयोग गरिएको उनले बताए। यस्तै करिब ३५० ग्यास सेल प्रहार गरिएको उनले बताए। उक्त घटनामा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका थिए। घाइतेमध्ये चारजनाको अझै पनि अस्पतालमा उपचार चलिरहेको उनले बताए।
घाइतेमध्ये एक जनाको भने मृत्यु भएको समितिले जनाएको छ। भरतपुर–२१ का १९ वर्षीय सरोज गुरूङको उपचारकै क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनको भनाइ छ।

फर्काउँदै कैदीबन्दी
प्रदर्शनका क्रममा भरतपुर कारागारबाट कैदीबन्दी भाग्ने घटनासमेत भएको थियो। अवस्था जर्जर बन्दै गएपछि मानिसहरुको जिउधन जोगाउने उद्देश्यसहित सुरक्षा व्यवस्था खुकुलो हुँदा भरतपुर कारागारमा रहेका ७४२ जना कैदीबन्दी फरार भएका थिए। त्यसमध्ये जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाको आधारमा ३२७ जना कैदीबन्दी आफूखुसी कारागार फिर्ता भइसकेका उनले बताए।
भरतपुर कारागारबाट निस्किएकामात्र नभई अन्य कारागारबाट भागेर आएका १५ जनासमेत चितवन प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ।

जनजीवन सामान्यतर्फ
आन्दोलनपश्चात् जनजीवन बिस्तारै सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन्। सार्वजनिक यातायात सञ्चालनमा आइसकेको छ भने विद्यालयहरू पनि खुलिसकेका छन्। क्षतिको विस्तृत विवरण सङ्कलनका लागि समिति गठन गरेर काम भइरहेको उनले बताए। समितिबाट विवरण आइसकेपछि स्वेतपत्र सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ।
क्षेति पुगेका कार्यालय परिसर तथा सार्वजनिक स्थलको सरसफाइका लागि प्रहरीसँग समन्वय गरी काम भइरहेको उनले बताए। तत्कालका लागि न्यूनतम सेवा सञ्चालन गर्न आधारभूत सामाग्री खरिद र मर्मत सम्भारमा चासो देखाउने संघसंस्था तथा व्यक्तिहरूले पनि सक्रियता बढाएको उनले बताए। त्यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनले ‘एकद्वार प्रणाली’ सुरू गरेको प्रसासनले जनाएको छ।




























