काठमाडौं, पुस ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका छन्। बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका हुन्।
‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीको दावी छ। उनले त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नयाँ जनादेशको कुरा गर्ने गरेको बताए।
गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै उनले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप पनि लगाए।
‘गठबन्धनको यो निकम्मा सरकार हो, यसलाई विकासप्रति कुनै चासो छैन। आयात बढेको बढ्यै छ। भ्रष्टाचार बढेको छ। धितो राखेर पनि कसैले ऋण लिन पाउने अवस्था छैन। सरकारले नेपाललाई गरिवीतिर लगेको छ’, ओलीको भनाइ छ।
विकास, सुशासन र सम्मृद्धिको पक्षमा काम गर्ने पार्टीका रुपमा एमालेलाई जनताले चिनेको भन्दै उनले एमालेकै पालामा जेष्ठ नागरिकहरुको हेरविचार र सम्मान गर्ने योजनाअनुसार ५१ सालबाट एक सयका दरले जेष्ठ नागरिक भत्ता दिन सुरु गरेर आज मासिक ४ हजार रुपैयाँ घरमै पुग्ने गरेको ओलीको दावी छ।


























