चितवन, भदौ १७।
महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरणको उद्देश्यसहित ‘चितवन महिला उद्यमी मेला २०८२’ भदौ १९ गतेदेखि सुरु हुने भएको छ। चितवन उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा हुने उक्त मेलाको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
वि।सं। २०१६ मा स्थापित चितवन उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीको हकहित संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै स्थानीय आर्थिक विकासमा योगदान दिँदै आएको छ। संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले महिला उद्यमशिलतालाई बलियो आधार बनाएर महिलाको आर्थिक उन्नति र सामाजिक सशक्तिकरणमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै मेलाले यस अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
संघले विगतदेखि नै महिला उद्यमीका समस्याको पहिचान र समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। महिलालाई सीपमूलक तालिम दिनु, उनीहरूको उत्पादनलाई बजारसम्म पु(याउने र आयआर्जनका क्रियाकलापमा संलग्न गराउनु संघको दीर्घकालीन लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए।
कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार महिला उद्यमी मेलाले घरेलु तथा लघु उद्यममा संलग्न महिलालाई आफ्ना उत्पादनको प्रचार–प्रसार गर्ने अवसर दिलाउनेछ। साथै गृहणी महिलालाई समेत उद्यमशिलताप्रति उन्मुख गराउने उद्देश्य रहेको उनले बताइन्। संघको परिसरमा सञ्चालनमा रहेको ‘चितवन कोसेली घर’ बाट पनि महिलाद्वारा उत्पादित सामग्रीलाई प्रवर्द्धन गर्दै आएको जानकारी दिँदै उनले मेलाले यो प्रयासलाई अझ मजबुत पार्ने उल्लेख गरिन्।
मेलाको आयोजना भदौ १९ गतेदेखि २३ गतेसम्म चितवन उद्योग वाणिज्य संघको प्रदर्शनी केन्द्रमा हुने छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मेलामा करिब ३० वटा स्टल रहनेछन्। हस्तकला, लघु घरेलु उद्यम, कृषि उत्पादन लगायतका क्षेत्रमा संलग्न महिला उद्यमीले उत्पादन प्रदर्शन गर्नेछन्।
एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई प्रोत्साहनका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ। यसका लागि उद्योग तथा वाणिज्य कार्यालय चितवनले समन्वय गरेको छ।
प्रमुख उद्देश्यहरू
मेलाले महिला उद्यमीका उत्पादन र सेवाको प्रचार–प्रसार गर्ने, महिला बेरोजगारी अन्त्य गर्न सहयोग गर्ने, स्वरोजगारको वातावरण सिर्जना गर्ने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लगायत उद्देश्य लिएको छ। साथै, महिला स्टार्टअपलाई प्रोत्साहन गर्ने र नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारीको अवसर सिर्जना गर्ने मेलाको लक्ष्य रहेको आयोजकले जनाएको छ।
अपेक्षित दर्शक र कारोबार
पाँच दिनसम्म सञ्चालन हुने मेलामा कम्तीमा १५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। मेलाको अवधिभर करिब ३० लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने आयोजक समितिको अनुमान छ। चितवन, मकवानपुर, नवलपुर, तनहुँ, पोखरा लगायतका क्षेत्रका महिला उद्यमी, उद्यमशीलतामा चासो राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, संघ–संस्था र आन्तरिक तथा बाह्य पर्यटक प्रमुख अवलोकनकर्ता हुनेछन्। प्रवेश निःशुल्क राखिएको छ।
मेलाको विशेषता
मेलाको क्रममा महिला उद्यमशिलता सम्बन्धी गोष्ठी, प्यानल डिस्कसन, अनुभव आदान–प्रदान लगायतका कार्यक्रम हुनेछन्। राष्ट्रिय योग्यता प्रणाली कार्यक्रमको सहकार्यमा आयोजना गरिने प्यानल डिस्कसनमार्फत उद्यमशिलताको अवसर र चुनौतीबारे छलफल हुने संयोजक रिजालले बताइन्।
मेलाबाट महिलाले उत्पादन गरेका सामग्रीको बजार विस्तार हुनुका साथै उनीहरूको आर्थिक हैसियतमा सुधार हुने र अन्ततः महिला सशक्तिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। नयाँ उद्यम सुरु गर्न चाहने महिलाका लागि मेला एउटा कोसेढुंगा सावित हुने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजकले मेलालाई सफल बनाउन सम्पूर्ण चितवनवासी, सञ्चारकर्मी तथा सरोकारवालालाई सहकार्य र सहभागिताका लागि अपिल गरेका छन्।



























