काठमाडौं, चैत ११ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न भन्दै सरकारले मंगलबार बिहानदेखि एक हप्ताका लागि देशैभर लकडाउन गरेको छ। बिहाज ६ बजेदेखि नै लकडाउन लागू भइसकेका कारण सडकमा सवारीसाधन गुडेका छैनन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू पनि देखिएका छैनन्। अत्यावश्यक सामाग्री खरिदका लागि बाहिर निस्किएकालाई पनि प्रहरीले सोधपुछ गरेर सम्झाएका छन्। मुल चोक र सडकहरूमा प्रहरीहरूको उपस्थिति बाक्लो छ।
आइतबार फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएपछि संक्रमण फैलिन नदिन सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले आज बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको हो। लक डाउनमा सरकारबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन बन्द गर्नुपर्छ। सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ।
स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णयसमेत सरकारले गरेको छ।
साथै, सरकारले आवश्यकता परे अन्य कर्मचारीलाई तत्काल उपस्थित हुने गरी कार्यालय प्रमुखले बिदा दिन सक्ने व्यवस्था गरेको छ। सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ। कोरोनाभाइरसको संक्रमण फैलने जोखिमलाई कम गर्न सरकारले लकडाउनको निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।
चितवन पनि सुनसान
सरकारले लक डाउन गरेसँगै चितवनका मुख्य चाेक तथा बजार क्षेत्र पनि सुनसान भएकाे छ। भाइरसकाे संक्रमण फैलन नदिन अत्यावश्यक सेवाबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई प्रशासनले आग्रह गरेकाे छ। साेही अनुसार मुख्य सबै चाेकमा प्रहरी खटाइएकाे छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार चाेकचाेकमा केही व्यक्ति निस्किए पनि प्रहरीले सम्झाएर घर पठाइएकाे जानकारी दिए।