चितवन । किरात याक्थुङ चुम्लुङको राष्ट्रिय भेला (बैठक) चितवनमा हुने भएको छ। चुम्लुङको जिल्ला समिति चितवनको व्यवस्थापनमा यही फागुन ७ र ८ गते भरतपुरमा राष्ट्रिय भेला हुन लागेको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
भेलामा प्रदेश १ को लिम्बूवान प्रदेश कार्यसमिति, बागमती प्रदेशको नेवा–ताम्सालिङ कार्यसमिति, ६ वटा विषयगत संगठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधिलगायत देशभरका २२८ प्रतिनिधि सहभागी हुने संघीय उपाध्यक्ष कमल लिम्बूले जानकारी दिए।
२०६८ को जनगणनाअनुसार नेपालमा लिम्बूको जनसंख्या तीन लाख ८७ हजार ३०० छ। त्यसमध्ये चितवनमा मात्रै करिब एक हजारको हाराहारीमा लिम्बूको जनसंख्या रहेको चितवन जिल्ला अध्यक्ष जनक लिम्बूले जानकारी दिए।
लिम्बू जातिको बसोबास पूर्वी नेपाल भए पनि पछिल्लो समय चितवन र राजधानीको तीन जिल्लासहित १३ जिल्लामा छरिएको चुम्लुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन्। भेलाको उद्घाटन हुनुपूर्व लिम्बू जातिको झाँकीसहित बजार परिक्रमा गर्ने कार्यक्रम रहेको उनले बताइन्।