काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको बताएका छन्। ७ दशकको प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिसको पेलान जारी रहेको भन्दै उनले आपत्ति जनाएका हुन्।
‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो ?’, नेता पौडेलले फेसबुकमा प्रश्न गरेका छन्।
नेता पौडेलले बुधबार तनहुँमा प्रहरीको लाठी र धडपकड भएपछि असली लोकतन्त्र कहिले साकार हुने हो भन्दै प्रश्न गरेका हुन्। नेता पौडेलले पुलिसको डण्डाबाट पेलिएका करङ दिउँसो भन्दा साँझ दुखेको र हिजो भन्दा आज अझ बढी दुखेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलले हिजो भन्दा आजको दुखाई बढी भएको बताएका हुन्।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ’, पौडेलले लेखेका छन्।
गृहजिल्ला तनहुँमा बुधबार पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर राखेको थियो। उक्त घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले साँझ पौडेललाई छोडेको थियो।


























