काठमाण्डौं, माघ १७ । सत्तारुढ दलका नेताहरुको दबावमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी नारायण चिमौरियाको सरुवा भएको छ। डीएसपी चिमौरिया गत साउनमा सरुवा भएर सोलुखोम्बु गएका थिए। गृहमन्त्रालयले उनको ठाउंमा टेकुनन्द इवा लिम्बुलाई पठाएको छ।
जिल्लाका संघीय सांसद हेमकुमार राई, प्रदेश सासंदहरु उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीको दबावमा चिमौरियाको सरुवा भएको स्रोतको दाबी छ।
गत माघ ४ मा सोलुखुम्बुको पातलेमा राष्ट्रिय प्रशारण लाइनको उद्घाटन गर्न जाने क्रममा तिंगला ११ का स्थानीय वासिन्दासंग झड्प भएको थियो। प्रशारण लाइनको शवस्टेशन तिंगलामा रहेको छ। आफ्नो गाउंलाई अधेरोमा राखेर प्रशारण लाइन वन्न नदिने अडान लिएपछि झड्प भएको थियो।
प्रहरीले कार्यक्रम नगर्न सुझाव दिए पनि जिल्लाका माननीयहरुले प्रशारण लाइन जसरी पनि उद्घाटन गर्ने अडान लिएपछि झड्प भएको थियो। झड्पमा परी डिएसपी चिमौरिया लगपायत घाइते भएका थिए।
झडप हुँदा ११ मोटरसाइकल र गाडीमा समेत आगजनी गरिएको थियो। तिंगलाबासीले यसअघि भएको स्थानीय र संघीय निर्वाचन समेत बहिस्कार गरेका थिए।
उनलाई सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप लगाइए पनि सत्तारुढ दलका नेताहरुको आदेश नमानेको आरोपमा सरुवा भएको गृह स्रोतको दाबी छ।
‘जिल्लाका नेताहरुको र (डिएसपी) को सम्बन्ध राम्रो थिएन्। अहिले तिंगला घटनालाई कारण बनाएर सरुवा गरिएको हो।’ स्रोतले भन्यो।
सोलुखुम्बु प्रहरी प्रमुख रहेका डीएसपी चिमौरियालाई प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागमा तानिएको छ।