गोरखा, फागुन १० । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ मा एकै परिवारका तीन जना सुतेकै ठाउँमा मृत भेटिएका छन्। सोमबार बिहान ८ बजेसम्म चहलपहल नभएपछि स्थानीयले गएर हेर्दा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।
स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको उनले बताए।स्थानीयले खबर गरेपछि बारपाक प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी पुगेको र इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिए।
मृत भेटिएकाहरुको मुखमा सेतो फिज पनि देखिएको जानकारी दिँदै एसपी गुरुङले भने,’ हामी थप अनुसन्धानमा छौँ।’ शव जौबारीस्थित अस्पतालमा पोस्टमार्टमका लागि ल्याइने बताइएको छ। रासस


























