कार्तिक ११ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा हैदराबादसँग खेल्नेछ। दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आठौं जितको खोजीमा हुनेछ। अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ। श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली हैदराबादलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ।
दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ। तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन्। दिल्लीले सन्दीपलाई ११ खेलमा बेञ्चमा राखेको थियो। दिल्ली हैदराबादलाई हराएर प्ले अफ यात्रा सुरक्षित गर्न चाहन्छ।
यस्तै दिल्ली अघिल्लो भेटमा ब्यहोरेको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा दिल्लीलाई हैदराबादले १५ रनले हराएको थियो। तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न दिल्लीलाई कठिन भने हुनेछ। हैदराबाद पनि जित निकाल्दै प्ले अफको सम्भावना कायम राख्न चाहन्छ। हैदराबाद ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ। दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ।
हैदराबादले कप्तान वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडीलाई मैदान उतार्ने छ। दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, ऋषब पन्त, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ। एजेन्सी

























