भरतपुर । वर्षा बाधक बनेपछि नेपाल १९ वर्षमुनिको आईसीसी विश्वकप क्रिकेटमा पुग्न असफल भएको छ । नेट रनरेटमा नेपालभन्दा माथि रहँदै अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।
अर्को वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको फाइनल स्पर्धा शनिबारका लागि तल्लो मुलपानी क्रिकेट मैदानमा तोकिए पनि शुक्रबारदेखि परेको पानीका कारण एक बल पनि खेल हुन सकेन । विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो भने अफगानिस्तानलाई बराबरी नै काफी थियो । तर, खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीलाई समान १/१ अंक प्रदान गरिएको थियो। यस्तोमा नेपाल नेट रननेटमा पछि पर्दै नवौं पटक विश्वकपमा पुग्न असफल भएको हो । नेट रनरेट अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ थियो ।
अम्पायर प्यानलले दिउँसो साढे २ बजेसम्म मैदान तयार भए कम्तिमा २०/२० ओभरको खेल खेलाइने बताएका थिए । सोहीअनुसार पटक-पटक मैदानको सुपरिवेक्षणसमेत गरेका थिए। लगातारको वर्षाले पूर्णरुपमा भिजेको मैदानलाई सुकाउन हरसम्भव प्रयास गरिएको पनि थियो। तर, ३० यार्ड क्षेत्र सुके पनि बाउन्ड्री क्षेत्र हिलो नै रहेपछि दिउँसो २ बजे म्याच रेफ्री तथा अम्पायरहरु खेल रद्द गर्ने निर्णयमा पुगेका थिए।
जसका कारण खेल हेर्न टिकट काटेर मैदान पुगेका समर्थक निराश बनेर फर्किएका थिए। उनीहरुले मैदान व्यवस्थापनमा चुकेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) र आईसीसीविरुद्ध नाराबाजीसमेत गरेका थिए। खेल नै हुन नसकेपछि क्यानले टिकटको रकम फिर्ता गरेको जनाएको छ।
प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोली आफ्ना ३ वटै खेल जित्दै विश्वकपमा पुग्ने दाबेदारी प्रस्तुत गरेका थिए। यी दुवै टोलीसामु ओमान, यूएई र हङकङ पराजित भएका थिए ।
हेड टू हेडमा पनि दुवै टोली एकअर्कामा उत्तिकै प्रतिस्पर्धी हुन्। नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा यूएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तान यू–१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।
यसबाहेक नेपाली टोलीलाई घरेलु मैदान र समर्थकको साथ रहने अवस्था रहे पनि मौसम प्रतिकूल बन्दा नतिजा आफ्नो पोल्टामा आउन सकेन । राउन्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगिताको विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने प्रावधान थियो ।
अफगानिस्तानविरुद्ध जित निकाल्ने आत्मबल खेलाडीमा थियो : प्रशिक्षक गौचन
नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानविरुद्ध जित निकाल्ने आत्मबल खेलाडीमा रहे पनि वर्षा बाधक बनिदिएको बताएका छन् । खेल रद्दसँगै नेपाल विश्वकपमा पुग्न असपल भएपछि प्रतिक्रिया दिँदै गौचनले ३ महिनासम्म छनोटको तयारी गर्दा विश्वकप खेल्ने सपना देखेको सुनाए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भाग्यले पनि साथ नदिँदा धेरै दुःख लागेको र यो अवस्था स्वीकार्न तयार रहेको प्रतिक्रिया पनि दिए। ‘शनिबार नतिजा जेसुकै आए पनि अफगानिस्तानसँगको शृंखलामा जसरी पुनरागमन गरिएको थियो, त्यो हेर्दा हराउन सक्छौँ भन्ने आत्मविश्वास टोलीमा थियो,’ उनले भने ।
नेपाली टोलीका अधिकांश खेलाडी नयाँ भए पनि क्षमतावान रहेको र उनीहरूले आफूलाई हरेक दिन सुधार गर्दै लगेको उनको दाबी थियो । ‘अहिले विश्वकपमा छनोट हुन असफल भए पनि मलाई विश्वास छ, यो पुस्ताका खेलाडीले राष्ट्रिय टोलीबाट अवश्य खेल्नेछन्,’ उनले थपे ।
उनले विश्वकपमा छनोट हुन नसकेपछि खेलाडीहरू धेरै रोएको र आफूलाई पनि चित्त दुखेको बताए। यद्यपि, आफ्नो करियरमा योभन्दा ठूलो दुःख र सुख भोगेको भन्दै खेलाडीलाई सम्झाएको उनले उल्लेख गरे। ‘यो दुःखबाट अगाडि बढेर सुधार गर्न सके अझ राम्रो नतिजा आउन सक्छ’ भनेर आफूले सम्झाएको उनले सुनाए ।