काठमाडौं। आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले जितका लागि ११६ रनको लक्ष्य पाएको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनमा समेटिएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।
हङकङका लागि शिव माथुरले सर्वाधिक ६३ रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् । सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र आर्या पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी गरेका थिए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझाउनुपरेको हो ।
उसका लागि पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए । हङकङका ब्याटरका लागि नेपाली स्पिनरहरु हाबी हुन पुगे । पूरै १० ओभरको स्पेल बलिङ गरेका युवराज खत्रीले ४ विकेट लिन मात्र १८ रन खर्चिए । अर्को खेमाबाट विपिनप्रसाद शर्माले उनलाई साथ दिइरहे । उनले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवको नाममा २ र अशोक धामीको नाममा १ विकेट रह्यो ।
प्रतियोगिताअन्तर्गत नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । नेपालजस्तै दुई खेल जितेको अफगानिस्तानले पनि पूर्ण जीत निकालेको छ। आज यूएईसँग माथिल्लो मुलपानीमा खेलिरहेको अफगानिस्तान पनि नेपालजस्तै जितको खोजीमा देखिन्छ ।
प्रतियोगिताको विजेता टोली सन् २०२६ मा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।