खोटाङ, कार्तिक ११ । खोटाङमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। अन्य चार जना घाइते भएका छन्। उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सात बजेतिर भएको जिप दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दधुमान राई, बराहापोखरी–६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो।
उक्त दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने बच्चा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका हुन्।
उनीहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्याइएको खोटाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए। मृतकको शव पोष्टमार्टमका लागि उदयपुर पठाउने तयारी भइरहेको साहले बताए।


























