चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनको रत्ननगरस्थित टिकौली चौरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको समापन गर्दै मेयर प्रल्हाद सापकोटाले विद्यार्थीहरुका लागि खेलकुद एउटा गहना भएकाले यसको माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शनी, अनुशासनका साथै राष्ट्रको गरिमा बढाउन सहयोग पुग्ने बताए।
रत्ननगर नगरपालिकाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षासम्म प्राथमिकताका साथ छात्रवृत्तिको व्यवस्था गरेको बताउँदै विद्यार्थीहरुले खेलकुदमा जसरी शैक्षिक प्रगति गर्नेगरी अघि बढ्न आग्रह गरे। उनले विजयी विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै सक्षम खेलाडी उत्पादनका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने जिकिर गरे।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्रभित्रका संस्थागत र सामुदायिक गरी ३१ वटा विद्यालयका ५२५ जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी, दौड, जेभलिन थ्रो, रिले, लङजम्प, त्रिपलजम्पलगायतका खेलहरु खेलाइएका थिए।
विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीलाई मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडाध्यक्षलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
नगर खेलकुद विकास समितिका संयोजक कृष्ण महतोको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो।
Facebook Comments