चितवन । कालिका नगरपालिकामा सम्पन्न कमरेड निमा स्मृति खुला नकआउट फुटबलको उपाधि कमरेड निमाले जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा चौधरी मोटर्स खैरहनीलाई हराउँदै कमरेड निमाले उपाधि जितेको छ। प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा कमरेड निमा १–० ले विजयी भयो।
कमरेड निमाको जितमा विवेक मगरले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा गोल गर्दै विवेकले कमरेड निमालाई च्याम्पियन बनाए। उनी नै खेलको म्यान अफ दि म्याच चुनिए।
विजेता बनेको कमरेड निमाले उपाधिसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेतामा समित चौधरी मोटर्स खैरहनीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। कमरेड निमाका भीष्म घिमिरे प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए।
यस्तै कमरेड निमाकै प्रदीप भण्डारी प्रतियोगिताभरको उत्कृष्ट गोल रक्षक, मनीष गोले उत्कृष्ट डिफेन्डर, सन्दीप सेन्चुरी उत्कृष्ट मिडफिल्डर र चौधरी मोटर्स खैरहनीका सुनिल तामाङ सर्वाधिक गोलकर्ता बने।
जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले आयोजना गरेको प्रतियोगितामा १५ टोली सहभागी थिए।