गाेरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन र स्वास्थ्य सुरक्षामा जनता आफैँ सजग हुनुपर्ने बताएका छन्। सदरमुकाम गाेरखा बजारमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा डा भट्टराईले कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैं सचेत भएर लाग्नुपर्ने बताएका हुन्। ‘नागरिक समाज, राजनीतिक दलले पनि आफ्ना तर्फबाट सचेतता अपनाउँदै कोरोना सङ्क्रमणको रोकथामका निम्ति अभियान चलाउनुपर्छ,’ उनले भने, ‘भारतमा तीव्र गतिमा सङ्क्रमण बढ्दै गएको छ, त्यसको असर स्वतः हामीलाई पर्छ, त्यसैले हामी नै सचेत हुनु जरुरी छ।
कोरोना सङ्क्रमणका लागि बिरामीको उपचार गर्न आवश्यक पर्ने औषधि, उपकरणलगायत सामग्रीको सरकारले तत्काल व्यवस्था गर्नुपर्ने उनकाे भनाइ छ। क्वारेन्टिनको व्यापक व्यवस्थापन गर्न र बिरामीका लागि भेन्टिलेटरलगायत आवश्यक उपकरणको व्यवस्था गर्न सरकारले तदारुकता देखाउनुपर्ने उनले बताए। तर, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा सरकारकाे उपस्थिति जुन तरिकाले हुनुपर्थ्याे, त्याे तरिकाले हुन नसकेकाे उनले बताए। ‘सरकारले नियोजित र व्यवस्थित ढङ्गले काम गर्न सकेको छैन,’ उनले भने। सरकारले समयमै सचेत ढङ्गले कोरोना रोकथामका लागि नलाग्ने हो भने स्थिति झनै जटिल र भयावह बन्दै जाने डा भट्टराईले बताए।
गाेरखा अस्पताललाई रगत परीक्षण गर्ने मेसिन
पूर्वप्रधानमन्त्री एवम् गाेरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा भट्टराईले शुक्रबार गाेरखा अस्पताललाई रगत परीक्षण गर्ने प्रयोशाला मेसिन हस्तान्तरण गरेका छन्। चीनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त प्रयोगशाला मेसिन अस्पताल सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गरेका हुन्। करिब सात लाख रुपैयाँ पर्ने उक्त उपकरणले एकै पटकमा ३६ वटा नमूना परीक्षण गर्न सक्ने अस्पतालले जनाएको छ। – रासस


























