चितवन । चितवनमा थप दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। शुक्रबार दिउँसाे ६ जनामा संक्रमण पुष्टि भएकाेमा साँझ फेरि दुईजनामा संक्रमण पुष्टि भएकाे हाे। साँझ रिपाेर्ट आएका १४७ वटा नमुनामध्ये चितवनका दुईजनामा संक्रमण पुष्टि भएकाे भरतपुर काेभिड–१९ परीक्षण प्रयाेगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्। भरतपुर ११ की ३२ वर्षकी महिला र रत्ननगर ९ का वर्ष ६१ का एकजना पुरुषमा संक्रमण पुष्टि भएकाे हाे।
संक्रमित पुरुषकाे पुष्पाञ्जली अस्पतालबाट र महिलाकाे भरतपुर अस्पतालबाट परीक्षणकाे लागि स्वाब संकलन गरेकाे थियाे। शुक्रबार नै भरतपुरकाे बीपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालकाे अंकाेलाेजी विभागमा कार्यरत एकजना स्टाफ नर्स र तीनजना सरसफाइ कर्मचारीसहित ६ जनामा संक्रमण पुष्टि भएकाे थियाे। अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएपछि उक्त विभाग बन्द गरिएकाे अस्पतालका अध्यक्ष डा निर्मल लामिछानेले जानकारी दिए।
दिउँसाे ६ जना र साँझ २ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या एकैदिन ८ जना पुगेकाे छ। यसअघि बिहीबार पनि चितवनमा १२ जनामा संक्रमण पुष्टि भएकाे थियाे। तीमध्ये ९ जना भरतपुरका मात्रै थिए भने शुक्रबार संक्रमण पुष्टि भएका ८ जनामध्ये ७ जना भरतपुरका छन्। भरतपुर महानगरपालिकाभित्र संक्रमणकाे दर उच्च हुँदै गएपछि भरतपुर महानगरपालिकामा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी केही समयकाे लागि निषेधाज्ञासमेत जारी गरेकाे छ।


























