चितवन, साउन ३१ । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला २४ सै घण्टा संचालनमा आउने भएको छ। समुदायका व्यक्ति र अस्पतालमा कार्यरत चिकित्सकहरुमासमेत कोरोना संक्रमण देखिन थालेपछि सेवा चुस्त दुरुस्त बनाउन ल्याव २४ सै घण्टा संचालन गर्ने निर्णय भएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए।
परीक्षणको दायरा वढाउने, स्वास्थ्य सल्लाहमा प्रभावकारीता ल्याउने र राज्यबाट जनताले पाउने सेवालाईसमेत अस्पतालले प्रभावकारी कार्यान्वयनमा ल्याउने जनाइएको छ। निजी अस्पतालहरुलाईसमेत कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत वेड छुट्याउन आह्वान गरीएको छ।
चितवनलाई ७५ भेन्टिलेटर, १ सय ५० आइसीयु र ३ सय आइसोलेसन वेडको व्यवस्थापन गरिने भएको छ। भरतपुर महानगरपालिका भित्र कोरोना संक्रमितको संख्या ९९ पुगेको जनस्वास्थ्य अधिकृत दिपक सुवेदीले जानकारी दिए।


























