चितवन १७ चैत । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन चितवनले आसन्न निर्वाचनमा जनप्रतिनिधिका रुपमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएको छ। राप्रपाको महिला संगठनका रुपमा रहेको उक्त संस्थाले बिहीबार भरतपुरमा आयोजना गरेको भेला तथा अन्तर्क्रियामा महिला नेतृहरुले वैशाख ३० गते हुने निर्वाचनमा महिलालाई उचित स्थान दिनुपर्ने बताएका छन्।
राप्रपाका सहमहामन्त्री तथा बागमती प्रदेश सांसद रीना गुरुङले महिलालाई नेतृत्व तहमा पुर्याउन राप्रपा सदैव प्रतिबद्ध रहेको बताइन्। आसन्न निर्वाचनमा राप्रपाले महिलालाई धेरै सिटमा उमेदवार बनाउने उनले बताइन्। राप्रपा राष्ट्रियता, एकता र विकासको पक्षमा प्रतिबद्ध पार्टी भएकाले यसपालि राप्रपाले चितवनका धेरै स्थानमा विजयी हासिल गर्ने बताइन्।
केन्द्रीय सदस्य मीना न्यौपानेले महिलाहरु एकताबद्ध भएर राप्रपाका उमेदवारलाई जिताउन लागिपर्ने बताइन्। कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य सीमा घतान, प्रदेश उपाध्यक्ष ज्ञानुजङ्ग लामा, प्रदेश सहसचिव माधव भट्टराई, राप्रपा चितवनका अध्यक्ष रुद्र ढकाल, जिल्ला उपाध्यक्ष हिमला गुरुङ, महिला संगठनका केन्द्रीय सदस्य हेमा रिमाललगायतको उपस्थिति थियो।


























