विनोद अनुज
चितवन १७ चैत । भरतपुर महानगरपालिकाको ५५ प्रतिशत माटो उपचार बिना कृषि गर्न नमिल्ने अवस्थामा पुगिसकेको छ। माटोमा तीव्ररुपमा रासायनिक मल र विषादीको उच्च प्रयोगका कारण महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या देखिएको भरतपुर महानगरपालिकाले जनाएको छ। माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजाले यस्तो देखाएको हो।
महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण गर्दा ५५ प्रतिशत माटोमा अम्लियपना देखिएको प्रयोगशाला हेटौँडाका प्रमुख डा जनार्दन खड्काले जानकारी दिए। माटोमा प्राङ्गारिक पदार्थको मात्र जम्मा ४० प्रतिशत रहेको ले माटोको सही उपचार बिना उत्पादन लिन नसकिने डा खड्काको भनाइ छ। मुख्य समस्याको रुपमा रहेको अम्लियपना हटाउन कृषि चुनको प्रयोग गर्नुपर्ने र त्यसपछि प्राङ्गारिक मलको प्रयोग गरेर खेती गर्नुपर्ने उनले बताए।
कम्पोष्ट मल, प्राङ्गारिक मल या गोठेमलको प्रयोगबिना माटोको उपचार सम्भव नहुने भएकाले राम्रोसँग पकाइएको वा प्रशोधन गरिएको गाईवस्तुको मल प्रयोग गरेर माटोमा सुधार ल्याउन सकिने उनले बताए। माटोको सुधार गर्न प्राङ्गारिक र कम्पोष्ट मलको प्रयोगमा किसानलाई अग्रसर बनाउन महानगर कृषि शाखालाई सुझाव दिएको खड्काले बताए।
भरतपुर महानगरका कृषि तथा पशुपन्छी प्रवर्द्वन शाखाका प्रमुख तेजेन्द्र पौडेल भने किसानले पनि माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिगार्ने काम तीब्र भएको बताउँछन्। माटोमा अम्लियपन बढे उत्पादन स्वतः घट्ने हुँदा किसान आफैँ पनि यसबारे सचेत हुनु आवश्यक रहेको उनले बताए। माटोमा भएको अम्लियपनको मात्र यसरी नै बढ्दै जाने हो भने जुनकुनै पनि बाली उत्पादनमा तीव्र गतिमा ह्रास आउने उनको भनाइ छ।
जमिन ५.५ देखि ६.५ पिएचसम्म हुँदा धान खेती गर्न सकिन्छ। तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जाने हुँद माटोलाई समयमै उपचार गर्नुपर्ने विज्ञहरुको सुझाव छ। माटो परीक्षणपश्चात सिफारिस गरिएका मात्रामा कृषि चुन प्रयोग गर्नुपर्ने कृषि शाखा प्रमुख पौडेल बताउँछन्। चुन छरेर जोतेपछि पानी लगाउन सकियो भने १५ दिनमा जमिन खेती गर्नको लागि पुनः तयार हुने उनले बताए।
कृषि चुन छर्नासाथ खेती गरेमा बाली नउम्रने, उम्रे पनि डढ्नेजस्ता समस्या देखा पर्ने उनले बताए। सिँचाई नहुने जमिनमा भने कृषि चुन छरेपछि जमिन जोतर १ महिनासम्म खेती गर्न नहुने विज्ञहरुको भनाइ छ। डा खड्काका अनुसार बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ। त्यसैले माटो सुधारका लागि नै विशेष ध्यान दिनुपर्ने उनले बताए।
महानगर प्रमुख रेनु दाहालले महानगरमा अब प्राङ्गारिक उत्पादन र उपभोगमा जोड दिइन्। प्राङ्गारिक उत्पादनका लागि महानगरले आवश्यक सहयोग र समन्वय गर्ने उनको भनाइ छ। महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले अब प्राङ्गारिक उत्पादनको विकल्प नरहेको बताइन्।


























