मकवानपुर, पुस २७ । प्रदेश ३ को नाम बागमती कायम भएको छ। प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो।
नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो। प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रस्ताव गरेको उक्त प्रस्तावको पक्षमा १०८ मत परेको छ।
प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए। प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे।