काठमाडौं, फागुन १२ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं अर्थात् अन्तिम चरणको खेलहरु आज बिहीबारबाट सुरु हुँदैछ।
आज बिहीबार १३ औं चरणका दुई खेलहरु हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ।
हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ। फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ। आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन्।
यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १ बजे सुरु हुनेछ। च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ। च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ।
सातदोबाटो १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। सातदोबाटो आज च्यासललाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ।


























