चितवन ०३ जेठ । जिल्ला प्रहरी कार्यालय चितवनले ज्यान मारेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ। इच्छाकामना ५ तीन नम्बर पुल बस्ने करिब ५० वर्षका गोपी प्रजाको हत्या गरेको आरोपमा सोही स्थान बस्ने वर्ष ४५ की काइली भनिने सर्किना चेपाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार मृतक गोपी प्रजाले सर्किना चेपाङलाई शारिरीक सम्बन्ध राख्न प्रस्ताव गर्दा सर्किनाले नमानेपछि गोपीले जबरजस्ती गर्न खोज्दा सर्किनाको हातमा रहेको खुर्पाको प्रहारबाट गोपीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
‘यही वैशाख ३१ गते अन्दाजी सवा ८ बजेको समयमा चितवन जिल्ला इच्छाकामना गाउँपालिकाको वडा नं. ५ स्थित तीन नम्बर पुलबाट करिब ५० मिटर तल खोल्सामा सोही स्थान बस्ने वर्ष ६५ का गोपी प्रजा टाउकोमा चोट लागि मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि घटनाबारे अनुसन्धान गर्दै जाँदा शंकास्पद देखियो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीले भने, ‘घटनाको सुक्ष्म अनुसन्धान गर्दै जाँदा आफूमाथि जबरजस्ती गर्न खोजेपछिको प्रतिकारमा गोपीमाथि खुर्पा प्रहार भएको देखिन्छ। गम्भीर घाइते भएका गोपीलाई घाइते अवस्थामै छाडेको रहेछ, घटनाबारे थप अनुसन्धान जारी छ।’
सर्किनालाई चितवन प्रहरीले जेठ १ गते पक्राउ गरेको हो। आफूले खुर्पा प्रहार गरी घाइते बनाएर छाडेको सर्किनाले स्वीकार गरिसकेको प्रहरीको भनाइ छ। घटनामा प्रयोग गरिएको भनिएको फलामले बनेको धारिलो घरेलु हतियार खुर्पासमेत बरामद गरिएको प्रवक्ता गिरीले जानकारी दिए।


























