चितवन १९ माघ । भरतपुर ११ मा रहेकाे नवजागृति सामुदायिक वनमा बाल उद्यानको शिलान्यास गरिएकाे छ। भरतपुर महानगरको ३० लाख रुपैयाँ लागतमा निर्माण थालिएकाे बाल उद्यानकाे साेमबार भरतपुर महानगर प्रमुख रेनु दाहालमार्फत शिलान्यास गरिएकाे हाे। महानगरले लिएकाे ‘एक वडा एक पार्क’ निर्माणको योजनाअनुसार नवजागृति सामुदायिक वनमा नगरस्तरीय ईको पार्क निर्माण थालिएको मेयर दाहालले बताइन्।
उनका अनुसार महानगरले हाल ६ वटा वडामा नगरस्तरीय पार्कको काम थालिसकेकाे छ। नवजागृति सामुदायिक वनमा निर्माण हुँदै गरेकाे बाल उद्यानका लागि आगामी दिनमा पनि महानगरबाट बजेट थप गर्ने र केन्द्र सरकारबाट पनि बजेट ल्याउन पहल गर्ने प्रतिवद्धता जनाइन्।
कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विकास निर्माणमा भरतपुर महानगरपालिकाको विकासबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने बताइन्। शिक्षा, स्वास्थ्य, सरसफाइलगायत पूर्वाधार निर्माणक्षेत्रमा भरतपुर महानगरले नमुना काम गरेको उनको दाबी छ।
बालउद्यानकाे लागि सामुदायिक वनले समेत ३७ लाख ८५ हजार ६३२ रुपैयाँ लागत छुट्याएर काम गरिरहेकाे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी गराए। ‘३० लाख रुपैयाँ महानगरले खर्च गर्ने र बाँकी ७ लाख ८५ हजार ६३२ रुपैयाँ सामुदायिक वनले लगानी गर्ने गरी महानगरसँग सम्झौता भएको छ,’ उनले भने। यही माघ ९ गते सम्झौता भई २०७८ असार २५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको उनले बताए। यसबाट करिब ४५ हजार जनसंख्या लाभान्वित हुने उनकाे भनाइ छ।


























