काठमाडौं, माघ २० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटा अटाउन महाभियोगको प्रस्ताव ल्याए आफूहरूले साथ दिने बताएका छन्।
आज काठमाडौंमा आयोजित भए कार्यक्रममा उनले आफूहरू सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताएका हुन्। ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं। उहाँ विधिसम्मत रूपमा चल्नुभएन,’ नेता रायमाझीले भने।
आफूहरू अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनले बताए। ‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं। सरकारसँग बहुमत छ। एमसिसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत छ। सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन्। तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ। कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं,’ उनले भने।
पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने पनि स्पष्ट पारे। ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ। त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन, नेपाली जनताको समर्थन र सहारा चाहिएको छ। जनताको माहोल अहिले एमालेतिर छ,’ उनले भने।


























