मुम्बई, माघ २० । भारतीय र्यापर हनी सिहंमाथि गीतमार्फत अश्लीलता फैलाएको उजुरी परेको छ। महाराष्ट्रको नागपुरस्थित एक जिल्ला अदालतले उनलाई आफ्नो भ्वाइस सेम्पल दिन भनेको छ।
अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो। हनी माथि गीतका माध्यमबाट अश्लीलता फैलाएको आरोप लागेको छ।
जिल्ला र अतिरिक्त सत्र न्यायाधीश एस ए एस एम अलीले जनवरी २७ मा हनीलाई फेब्रुअरी ४ देखि फेब्रुअरी ११ सम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिएका थिए। अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाई गर्दै यो आदेश दिएको हो।
अदालतले हनीलाई जनवरी २९ देखि फेब्रुअरी ४ सम्म दुबईको यात्रा गर्न अनुमति दिँदै फेब्रुअरी ४ देखि फेब्रुअरी ११ बीच प्रहरी थानामा हाजिर हुन भनेको छ। हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले विरोध गर्दै गायक जनवरी २५ मा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए।
अनुसन्धान अधिकारीहरुले गायकले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन्। पंचपौली प्रहरीले आनन्दपाल सिंह जब्बलको उजुरीका आधारमा गायकविरुद्ध धारा २९२ (अश्लील सामग्रीको बिक्री, वितरण) र आईपीसी तथा सूचना प्रौद्योगिकी अधिनियमको अन्य सम्बन्धित प्रावधान अनुसार उजुरी दर्ता गराएको थियो।


























