काठमाडौं, असार २८ । जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ। आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो।
जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझेका छन्। निर्वाचन आयोगको गत बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो।
गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो। एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो।
दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल भएका छन्। जसपाको सहमति अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्।
पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन्। तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।


























