काठमाडौं, पुस २९ । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १ सय ५४ रनको चुनौती दिएको छ।
समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोड्यो। सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गरे।
अर्जुनले २३ बल खेल्दै चार चौका र एक छक्का हिर्काएका थिए। वसन्त कार्कीले १७ बलमा २८ रन बनाउदा तीन छक्का प्रहार गरे। दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे।
कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे। रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट लिए। दिनेश अधिकारीले एक विकेट हात पारे। समूह ‘ए’ अन्तर्गत लगातार दुई खेल जित्दै चार अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ।
यता दुई मध्ये समान एक–एक खेल जितेको त्रिभुवन आर्मी क्लब र कर्णालीको समान दुई अंक भएपनि नेट रनरेटमा आर्मी अघि छ। सुदुरपश्चिम र प्रदेश नं। १ ले पहिलो खेलमा पराजय भोगिसकेका छन्।


























