काठमाडौं, पुस २९ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजेदेखि सुरू हुने बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिएको आयोगले जानकारी दिएको छ।
प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माघ १२ मा तय गरिएको राष्ट्रियसभा निर्वाचन र हाल जारी मतदाता नामावली संकलनबारे दलहरूलाई जानकारी गराइने छ। साथै स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुनेछ।
निर्वाचनको वातावरणका लागि सर्वदलीय बैठक आव्हान गरिएको आयोगले जनाएको छ।
आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए। तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन।
निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ। यद्यपि आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान लिएको स्रोतले जनाएको छ।
सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ। त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ। आयोगले र नेकपा एमालेले भने वैशाखलाई ५ वर्ष मान्नुपर्ने भनेका छन्।
२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो।


























