काठमाडौं, भदौ १४ । सरकारले तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्च व्यवस्थापन समूहको आइतबारको बैठकले इन्डोनेसिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
यी देशसँग आवागमनका गतिविधि बढ्दै गएको भन्दै नागरिकको सहजताका लागि सम्झौता अगाडि बढाउन लागेको मन्त्रालयले जनाएको छ।
त्यस्तै बैठकले १६ गतेदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानमा हवाई भाडादर बढी नलिन वायुसेवा कम्पनीलाई सचेत गराउने पनि निर्णय गरेको छ।
विषम परिस्थिमा हुने अन्तर्राष्ट्रिय उडानको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको छ।
समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा सदस्य छन्।
समितिलाई भाडादर, होटलले प्रदान गर्ने सुविधाको अनुमगन, होटल व्यवसायी संघसँग समन्वय गर्ने र यात्रुको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ।
बैठकले हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्यूलगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णयसमेत गरेको छ।


























