पुस ११ । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज आइतबार नेपालको महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन्।
नेपालको महिला टोलीले आज उज्वेकिस्तानको सामना गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।
नेपालको महिला टोली आज लगातार चौंथो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ सेटमा हराएको थियो। दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो।
यस्तै पुरुष टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल दिउसो पाैने ४ बजे सुरु हुनेछ।
नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।


























