मंसिर ४ । घरेलु टिम भारतले न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ।
राँचीमा शुक्रबार भएको दोस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो। जितसँगै तीन खेलको सिरिजमा भारतले २-० को अग्रता समेत बनाएको छ। तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ।
न्युजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले। राहुलले ६५ तथा शर्माले ५५ रन बनाए।
यस्तै भेन्कातेस आयरले अविजित १२ रन जोड्दा ऋषव पन्तले अविजित १२ रन बनाए। सूर्यकुमार यादव १ रनमा आउट भए।
न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।न्युजिल्याण्डका ग्लेन फिलिप्सले ३४ रन बनाए। मार्टिन गुप्टिल र मिचेलले समान ३१/३१ रन जोडे।
मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए। भारतका हर्सल पटेलले दुई विकेट लिए। भुवनेश्वर कुमार,रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १/१ विकेट लिए।


























