काठमाडौं, मंसिर ४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन शेर्पा र संकटाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत नगर्ने योजनामा रहेका छन्। हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ। संकटाको कप्तानी रबि सिलवालले गर्ने छन्।
यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र च्यासलबीचको ललितपुर डर्बी भिडन्त पौने ५ बजे सुरु हुनेछ।
उपाधि दाबेदार थ्री स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरुआत सुखद बनाउन चाहन्छ। त्यसैले दुई छिमेकी प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
थ्री स्टारमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले लिगमा टिमको लक्ष्य उपाधि रहेको बताएका छन्। च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले टिमको लक्ष्य शीर्ष चार रहेको बताएका छन्।
थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ। यस्तै च्यासलको कप्तानी अनुभवी खेलाडी बिराज महर्जनले गर्ने छन्। लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।
यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन्। लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन्।


























