दाङ १ मंसिर । सानीभेरी गाउँपालिका –४ रुकुमका चन्द्र बिसीले दाङ आएर फरक व्यवसाय शुरु गरेका छन्छ। उनले घोराही उपमहानगरपालिका –१७ गैरागाउँमा एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षलाई लिएर टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गरेका हुन्। ‘बिसी टर्की फर्म’ हाल टर्की, हाँस, स्थानीय र फाइटर कक पालिएका छन्। प्रतिबच्चा रु चार सयका दरले पाँच सय टर्की बुटवलबाट ल्यइएकामा ठूला बिक्री भएर अहिले सानाठूला गरी १५० बाँकी छन्। ‘टर्की पाल्नलाई धेरै मेहनत गर्नुपर्दो रहेनछ, तारबार गरिएको खुला ठाउँमा चर्छन्।
उनीहरुले घाँस, दुबो, मकै र ब्रोइलर कुखुराको दाना पनि राम्रो मानेर खाने गरेका छन्। भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले छिटो आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने भएकाले पाल्न सजिलो रहेकाे उनले बताए। सामान्यतया टर्की ६ महिनामै वयस्क हुन्छ र अण्डा दिन थाल्छ। आफैँ ओथारो बसेर बच्चा दिने गरेका छन्। औसत आयु दुईदेखि चार वर्षसम्म रहने टर्की ६ महिनाका अन्तरमा आठ किलोसम्मको हुन्छ। दुईवर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने उनी बताउँछन्। बोसोरहित हुने भएकाले यसको मासु सेवन गर्दा मानिसको हाड मजबुत बनाउन सहयोग मिल्छ। यसको मासु जस्तोसुकै मधुमेह, युरिक एसिड, र रक्तचापका बिरामीले खान मिल्ने र कसैलाई असर नगर्ने हुँदा हरेक मानिसको रोजाइ भएको उनको भनाइ छ।
जिउँदो प्रतिकिलो रु आठ सय र तयार पारिएको मासु प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ। तुलसीपुर उपमहानगरपालिका – १७ का नारायण आचार्यले ‘नारायण पोल्ट्री फर्म’ को नामबाट कुखुरा पालन व्यवसाय सञ्चालन गरेका छन्। दुईवर्ष कतारमा बसेर आएका आचार्य उता कमाएको पैसा अलिअलि जम्मा गरेर राखेको र दाङमै केही गर्नुपर्छ भन्ने सोचाइ आएपछि लेड्स कुखुरा व्यवसाय सञ्चालन गरिएको बताउँछन्। ‘आठ कठ्ठा आफ्नो जमीनमा रु ४० लाखको लगानीमा दुई खोरबाट कुखुरा पालन शुरु गरेको चारवर्ष भयो।
‘दाङमा टर्की व्यवसाय पनि राम्रो होला जस्तो लागेर त्यो पनि शुरु गरेको छु’, चार सय टर्कीका बच्चा चितवनबाट ल्याएर व्यवसाय शुरु गरेका आचार्यले भने, ‘सात महिनादेखि आम्दानी लिन थालेको छ।’ उनले दुई खोरमध्ये एउटामा ठूला र अर्काेमा साना टर्की राखेका छन्। गाउँघरमा उत्पादन भएको दाना र सामान्य हावापानीमा पाल्न सकिने भएकाले सजिलो उनी बताउँछन्। यसको माग धेरै भएकाले खोरबाटै बिक्री हुने गरेको उनकाे भनाइ छ। स्थानीय बजार तथा काठमाडौँ, बुटवल पनि जाने गरेको छ। बजारमा माग धेरै भएकाले पुर्याउन नै सकेको छैन। विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा सानोतिनो व्यवसाय गर्नु उचित लागेर टर्की व्यवसाय गरेका उनी अर्काका देशमा श्रम गर्नुभन्दा स्वदेशमा नै काम गर्न युवालाई सल्लाह दिन्छन्।
उनले दुई जनालाई रोजगारीसमेत दिएका छन्। आफू टर्की पालन व्यवसायलाई व्यवस्थित गर्ने र कडकनाथ( कालो कुखुरा) थपेर व्यवसायलाई अगाडि बढाउने सोचमा रहेको आचार्यले बताए। स्थानीय तहले किसानलाई प्रोत्साहन गर्ने हो भने व्यवसायलाई निरन्तरता दिन सजिलो हुने र आत्मनिर्भर हुने उनकाे बुझाई छ। घोराही उपमहानगरपालिका पशु सेवा कार्यालयका प्रमुख जीवराज पौडेलले पशुपक्षी व्यवसाय गर्न चाहने युवालाई लक्ष्य गरेर युवा लक्षित अनुदान सहयोग कार्यक्रम रहेको जानकारी दिए। उपमहानगरपालिकाअन्तर्गत पशुसेवा शाखाको युवा लक्षित कार्यक्रम छ। किसानलाई प्राविधिक सहयोग र पशुपक्षीमा रोग लाग्दा उपचार, खोप, दानापानी आदिका बारेमा व्यवसायीलाई परामर्श दिने र अन्य सहयोग दिइएको उनले बताए। – रासस


























