काठमाडौँ, मंसिर २ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन्।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता साहले विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशासमेत ओलीसँग रहेको बताए। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक़ रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओलीजीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिएको नेता साहको भनाइ छ।
‘संसारका जुनसुकै देशका नेताहरूले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ। तर नेपालको जुन प्रकारको भुगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरूको बीचमा अवस्थित छ। दुवै देशसहित विश्वभरको शक्ति सन्तुलन गर्दै आफ्नो मुलुकको राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न उहाँले जुन प्रकारले सक्षमता देखाउनु भएको छ। दुनियाँको कुनै पनि देशमा यस्तो देखिएको छैन।’
‘अध्यक्ष ओलीकै नेतृत्व भएकोले मात्र वर्षोदेखि गुमेको नेपाली भुमीसहितको नेपालको नक्सा सार्वजनिक गर्दै हाम्रो भुभागलाई फिर्ता लिने कार्यको थालनी भएको हो। जो नेपालको इतिहासमा नयाँ हो,’ नेता साहले भने।
नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत केपी ओलीको विकल्प नरहेको समेत बताए।


























