काठमाडौं, भदौ १६ । निर्वाचन आयोगविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ। माधव नेपालको दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेपछि एमालेले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको हो।
पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेले गत भदौ १ मा पार्टी विभाजन रोक्न भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो।
एमालेले कारबाही गरेका १४ जनासहित ३० सांसद र ५५ केन्द्रीय सदस्यको सनाखतलाई मान्यता दिएर आयोगले ९ भदौमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो। एमालेले कारबाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएको भन्दै आयोगविरुद्ध मुद्धा हाल्ने तयारी गरेको हो।


























