काठमाडौं, भदौ ७ । एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास्न माग गर्दै एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र एमाले सांसदहरुले सभामुख अग्नि सापकोटालाई धम्की दिएको भन्दै सत्तारुढ तीन दलले आपत्ति जनाएका छन्।
सोमबार काँग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीका प्रमुख सचेतकहरुले सँयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
यही भदौ ३ र ४ गते एमाले सांसदहरुले सिहंदरवारस्थित सभामुखको कार्यकक्षमा धर्ना दिँदै बल प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्दै धम्की दिएका थिए। उनीहरु माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न माग गरेका थिए।
तर, सभामुख सापकोटाले भने आफूले अध्ययन गरिरहेको बताएका थिए। त्यसपछि एमाले सांसदहरुले धम्कीको भाषा प्रयोग गरेका थिए। अध्यक्ष ओलीले पनि एक सार्वजनिक कार्यक्रममा सभामुखले संसद कसरी चलाउँछन् हेरौंला भन्दै धम्की दिएका थिए।
सोही विषयलाई लिएर काँग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समाजवादीका प्रतिनिधि प्रदीप यादवले सँयुक्त विज्ञप्ति जारी गर्दै संसदीय मर्यादा कायम गर्न माग गरेका हुन्।



























