काठमाडौं, भदौ ७ । एमालेका तेस्रो धारका नेताहरु अन्ततः एमालेमै रहने भएका छन्। सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको छलफल सकरात्मक भएकाले उनीहरु एमालेमै रहने भएका हुन्।
सोमबारको छलफल सकरात्मक रहेको सो छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। उनले भने, ‘आजको छलफल सकरात्मक भएको छ। समग्र एकताको कुरा भएको छ। भोलिको बैठकमा हामी सबै सहभागी हुन्छौं। र सोही बैठकमा बाँकी कुरामा छलफल गर्दै अगाडि बढ्छौं।’
सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए।
यसअघि माधवकुमार नेपाल निकट रहेका उनीहरु पार्टी विभाजनमा भने थतस्ट बसेका थिए। मंगलबार नेता नेपालको नेतृत्वमा नयाँ पार्टी नेकपा (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखत हुँदैछ। त्यसअघि नै यसअघि नै कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भन्दै तेस्रो धारका नेताहरुले अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए। सोही अनुसार सोमबार भएको छलफल सकरात्मक भएपछि उनीहरु अब एमालेमै रहने भएका हुन्।
तेस्रो धारका नेताहरुसँग सहमति जुटेपछि अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन्। तेस्रो धारका नेताहरु मंगलबार स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन्।


























