काठमाडौं, साउन ११ । जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेता रेशम चौधरी हस्ताक्षरका लागि निर्वाचन आयोगमै उपस्थित हुने भएका छन्। जसपा विवाद निरूपणका लागि भइरहेको हेड-काउन्टमा उनी आयोगमै पुगेर सहभागी हुने भएका हुन्।
यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले आयोगमै उपस्थित हुने अडान लिएका थिए। त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो।
जेलर बसन्त पुरीले कारागार प्रशासनमा निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिए। आयोगमा पठाउन अब कारागार व्यवस्थापन विभागको अनुमति चाहिने भएकाले त्यसको लागि समन्वय भइरहेको उनले बताए।
आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो। उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन्।
चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् टुंगो लागिसकेको छैन। हालसम्म यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाको हस्ताक्षर पुगेको बताइएको छ।


























