चितवन ३ फागुन । नेपाली कांग्रेस चितवनले आयाेजना गर्ने विराेध प्रदर्शनलाई सम्बाेधन गर्न आज साेमबार नेपाली कांग्रेसका युवानेता गगन थापा चितवन आउँदैछन्। कांग्रेसकाे देशव्यापी विराेध प्रदर्शनका क्रममा केन्द्रीय नेताकाे तर्फबाट पूर्व-स्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे कांग्रेस चितवनले जनाएकाे छ। भरतपुरकाे केन्द्रीय बस टर्मिनलमा भेला भएर चाैबीसकाेठीमा आएर कार्यक्रम गर्ने तयारी भइरहेकाे कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए।
कांग्रेस चितवनले मध्यान्ह १२ बजे नै सबै कार्यकर्तालाई भेला हुन आग्रह गरेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि आन्दाेलित बन्दै आएकाे प्रमुख प्रतिपक्षी दल कांग्रेसले विभिन्न चरणमा विराेध र आन्दाेलन गर्नै आएकाे छ।
केन्द्रीय समितिकाे निर्देशनअनुसार आज साेमबार ७७ वटै जिल्लामा जिल्ला समितिकाे आयाेजनामा विराेध प्रदर्शन गर्न लागेकाे हाे। यसअघि नै कांग्रेसले भातृ संगठन र शुभेच्छुक संस्थाकाे तर्फबाट विराेधका कार्यक्रम गरिसकेकाे छ। आज हुने जिल्ला समितिकाे विराेध प्रदर्शनमा सहभागी भइदिन कांग्रेस चितवनले सबैलाई आग्रहसमेत गरेकाे छ।


























