काठमाडाैं ३ फागुन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारकाे पुनःनिर्माण सकिएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण सम्पन्न गरेकाे हाे। पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्दैछन्। उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ। भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताए। भवनकाे मौलिक संरचना र शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनःनिर्माण गरिएकाे उनले बताए। ‘अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहने गरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरूप कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरिएको छ,’ उनले भने।
पुनःनिर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो। भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ।
पुनःनिर्माणको खर्च मुअकबाहेक ८७ कराेड
सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनःनिर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक रु ८७ करोड खर्च भएको छ। उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले बताए।
निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको थियो। प्रबलीकरण भइरहेको पश्चिम मोहडा आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको उनले बताए। यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनःनिर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञबीच छलफलले समय लिएको थियो। सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरूपमै बचाउन प्रबलीकरण नै गर्न उपर्युक्त भएको निष्कर्ष आएपछि प्राधिकरणबाट प्रबलीकरण गर्ने कार्य भइरहेको छ। विसं २०७६ असोज २७ गतेदेखि शुरु भएको पश्चिम मोहडाको पुनःनिर्माणको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ। मूल्य अभिवृद्धि करबाहेक करिब रु ४६ करोड ८८ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले पश्चिम भागको प्रबलीकरण गरिरहेको छ। – रासस
Facebook Comments


























