विराटनगर, माघ १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको निर्णयले देशलाई अफगानिस्तानतर्फ लगेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा नेता पौडेलले देशलाई बर्बादीतर्फ लान खोजिएकोले नेपाली कांग्रेसले यसको प्रतिरक्षा गरेको बताए।
‘यो मुलुकलाई बर्बादीतर्फ लान हुँदैन। विधानलाई बचाउने न्यायमूर्ति अहिले पनि रहेका छन् भन्ने मैले ठानेको छु’, पौडेलले भनेका छन्, ‘देशलाई विग्रह, हिंसा र अफगानिस्तानको बाटोतर्फ लग्न दिइँदैन।’ देशकै कार्यकारी प्रधानमन्त्रीले संविधानमा नभएको अधिकारको प्रयोग गरेर संविधानलाई नै लत्याएको समेत नेता पौडेलले बताए। नेता पौडेलले भनेका छन्, ‘भोलि जसले जे गरेपनि हुने भन्ने नजिर बस्दछ।’
यस्तै नेता पौडेलले अदालतले संविधानको सही व्याख्खा गरेर सही फैसला गर्नेमा आफू ढुक्क रहेको बताए। अदालतको फैसलाको पक्षमा आफू रहेको बताउँदै नेता पौडेलले भनेका छन्, ‘कार्यकारिणी प्रधानमन्त्रीले गरेको निर्णय राजनीतिक निर्णय हो, अदालतले अहिले हेर्ने काम छैन। यो खारेज गरिदिनु भनेर आदेश दिँदै हिँड्नु भएको छ। यसको अर्थ के हो ?’
आफूले पहिल्यैदेखि नै मुलुकलाई अफगानिस्तानको बाटोतर्फ लग्न खोजियो भन्दै आएको र यस्तो गतिमा अघि बढ्ने हो भने मुलुक कहीँ पनि नपुग्ने पौडेलको नभाइ छ। प्रधानमन्त्रीको निर्णय राष्ट्र जोगाउनको लागि भन्दा पनि ध्वस्त पार्नको लागि आएको उनको आरोप छ। ‘प्रधानमन्त्रीले ल्याएको राष्ट्रघाती निर्णयलाई जनताले मान्न जरुरी छैन’, पौडेलले भने, ‘संविधानलाई भत्काउन पाईँदैन, हामी संविधान जोगाउन चाहन्छौँ।’


























