माघ १० । राँचीको रिम्स अस्पतालमा उपचार गराइरहेका बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको अवस्था गम्भीर भएको छ। लालुका छोरा तेजस्वीका अनुसार लालुको फोक्सोमा पानी जमेको छ। उनको अनुहार निकै सुन्निएको छ। लालुको गम्भीर स्थितिका कारण उनलाई दिल्लीको एम्स अस्पताल सार्ने तयारी गरिएको छ। यही सिलसिलामा लालुका छोराहरु तेजस्वी र तेजप्रतापले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसँग छलफल गरेका छन्।
पछिल्लो जानकारीअनुसार लालुको स्वास्थ्य लगातार बिग्रिइरहेको छ। डाक्टरको बोर्डले रिपोर्ट दिनासाथ जेल प्रशासनले उनलाई दिल्ली सार्न अदालतबाट स्वीकृति लिनेछ।
लालु चारा घोटाला अभियोगमा जेलमा थिए। राँचीको जेलमा रहेका उनलाई जेलबाटै रिम्स अस्पताल ल्याइएको थियो। छोरा तेजस्वीका अनुसार लालुको मुटुको सर्जरी यसअघि नै गरिएको थियो। उनको मृगौलाले पनि २५ प्रतिशत मात्रै काम गरिरहेको छ। तेजस्वीका अनुसार लालुलाई निमोनिया भएको छ। बिहीबार लालुलाई सास फेर्न समस्या भएको थियो। जाँचमा लालुलाई निमोनिया भएको थाहा भएको हो। एजेन्सी


























