चितवन, २३ भदौ। चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ मुनालचोकका अनिल राईले दुवई र कतार गरी ७ वर्ष वैदेशिक रोजगारमा समय बिताए। नेपालमै बस्दा गीतसंगीत सुन्थे मात्रै केवल सामान्य स्रोताको रूपमा। तर, विदेश गएपछि भने उनलाई नेपाली गीतसंगीतको शब्द/संगीतले भित्रभित्र छोयो। अनि जाग्यो गीत गाउने रहर।
स्वदेश फर्किएपछि उनी अहिले गीतसंगीतको लागि मूल बाटो पहिल्याउने प्रयासमा लागेका छन्। माफसलमै बसेर गीतसंगीतमा योगदान दिने उद्देश्यसहित अगाडि बढेको उनी बताउँछन्। ‘विदेशको बसाइले मलाई गीतसंगीततर्फ डोर्यायो,’ उनी भन्छन्, ‘विदेशको मिहिनेतले पनि संघर्ष के हो भन्ने बुझायो।’
चितवनमै बसेर उनले हालसम्म तीन वटा गीत दर्शकस्रोतमाझ ल्याइसकेका छन्। करिब ५ वर्षदेखि यही क्षेत्रमा संघर्ष गरिरहेका राई पहिलो पटक ‘तिम्रो मान्छे म’ बोलको गीत लिएर आएका थिए। पप शैलीका गीत गाउन रूचाउने उनलाई पहिलो गीतबाट हौसला पाएपछि दोस्रो गीत ‘झुटो होइन’ बोलको अर्को गीत लिएर आए। ‘यी दुईवटा गीतले सोचेजस्तो सफलता पाउन नसके पनि अझ निखारिने मौका मिल्यो,’ उनी भन्छन्।
अहिले उनी तेस्रो गीत ‘बाल्यकाल’को भिडियो सार्वजनिक गर्ने तयारीमा छन्। असोजको १ गतेसम्ममा तेस्रो गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने गरी भिडियोको काम अन्तिम चरणमा पुगेको उनी बताउँछन्।

‘बाल्यकाल’मा शब्द पनि गायक राईले नै लेखेका छन् भने विशाल पौडेलले संगीत भरेका छन्। आभाष रानामगरको निर्देशन तथा छायांकन र देव आरएन, गीता सापकोटा, बेञ्जामिन गुरूङलगायतको अभिनय रहेको भिडियोको सम्पादन भने सुबोध श्रेष्ठले गरेका हुन्। तेस्रो गीतमा पहिलो र दोस्रो गीतको अनुभवलाई प्रयोग गर्न पाएकोले अझ निखारिने मौका पाएको उनको भनाइ छ।
संगीतको औपचारिक कक्षा नलिइए पनि गीतसंगीतप्रतिको लगावकै कारण गायन क्षेत्रमा प्रवेश गरेको उनले बताए। परिवारको राम्रो साथ पाएकोले पनि आफूलाई संगीतमा समय दिएर काम गर्न पाएको उनको भनाइ छ। तेस्रो गीतको भिडियो आफ्नै नामको युट्युब च्यानलबाट प्रोमो प्रशासन भइसकेको छ।