चितवन, १८ भदौ। चितवनको भरतपुर विमानस्थललाई देशकै नमुना विमानस्थल बनाउने विषयमा चर्चा चलेको वर्षौँ बित्यो, तर समस्या भने ज्यूँका त्यूँ। दुईतिहाईको सरकार आइसकेपछि रविन्द्र अधिकारीले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भरतपुर विमानस्थललाई व्यवस्थित बनाउने चर्चा पनि चुलिँदै गएको थियो।
मन्त्री अधिकारीले विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेर फर्केका थिए। तर, आफैँ दुर्घटनामा परेर ज्यान गुमाएपछि मन्त्री अधिकारीले दिएको आश्वासन पनि सेलायो।

के भन्छन् मन्त्री भट्टराई
अहिले योगेश भट्टराईले मन्त्रालय सम्हालेपछि पनि भरतपुर विमानस्थलबारे चर्चा हुन थालेको छ। मन्त्री भट्टराईले भरतपुर विमानस्थलको बिस्ताको लागि पर्यटन मन्त्रालय सकारात्मक रहेको बताउँदै आएका छन्।
बुधबार भरतपुर महानगरपालिकाले यसै विषयमा छलफल कार्यक्रम नै आयोजना गर्यो। सोही क्रममा बोल्दै मन्त्री भट्टराईले भरतपुर विमानस्थल अत्यन्तै जोखिमयक्त रहेकोले यसको व्यवस्थापनबारे आफ्नो ध्यानाकर्षण भएको बताए।
‘वर्तमान समयअनुसार भरतपुर विमानस्थल ज्यादै साँघुरो भयो,’ उनले भने, ‘जसले गर्दा विमान उडान र अवतरण नै असुरक्षित बन्दै गइरहेको छ।’ सुरक्षित उडान र अवतरण गर्न सकिने स्थिति नरहेकै कारण ठूला जहाज र रात्रीकालिन उडान गर्न नसकेको उनको भनाइ छ।
देशकै मध्यभागमा रहेको हुँदा विमानस्थललाई व्यवस्थित बनाउनु आवश्यक रहेको उनको भनाइ छ। ‘यसको लागि भरतपुर महानगरपालिकाले विशेष भूमिका खेल्नुपर्छ,’ उनले भने।
विमानस्थलको पश्चिमतर्फ रहेको सेनाको ब्यारेक र घोडाको तबेलालाई अन्य स्थानमा स्थानान्तरण गराउन सके विमानस्थल विकासमा सहजता हुने उनले बताए। ‘सेनाको ब्यारेक र घोडाको तबेला राख्नको लागि महानगरले उचित स्थानको खोजी गरेर विकल्प दिनुपर्छ,’ मन्त्री भट्टराई भने।

अठारसय मिटर चाहिन्छ : विमानस्थल
वि.सं.२०१८ सालमा स्थापना भएको भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई एक हजार २०० मिटर भए पनि असुरक्षाका कारण जम्मा ९०० मिटर मात्रै प्रयोग गर्न पाएको विमानस्थलले जनाएको छ।
‘विमानस्थल वरिपरि निर्माण भएका मापदण्ड विपरितका संरचना, बिजुलीका तारलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल दिनानुदिन असुरक्षित बन्दै गइरहेको छ,’ भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले भने, ‘यात्रुको चाप र बढ्दो सहरीकरणका कारण विमानस्थलको क्षेत्रफल साँघुरो भएको अर्को समस्या त छँदैछ।’
के भन्छन् प्राविधिक ?
विमानस्थलको धावनमार्गलाई एक हजार ८०० मिटलसम्म लम्ब्याउन सकियो भने ७२ सिट क्षमताको विमान उडाउन सकिने प्राविधिकहरूको भनाइ छ। ‘तर, वर्तमान परिवेशलाई हेर्ने हो भने सम्भव नै छैन,’ विमानस्थलका प्राविधिक इञ्जिनियर प्रदीप अधिकारीले भने, ‘यदि धावनमार्गलाई चाहिने दूरी बढाउन सकियो भने ठूला जहाजसँगै रात्रीकालिन उडानको लागि पनि समस्या हुँदैन।’
भरतपुर विमानस्थलबाट हाल दैनिक ११ वटा उडान भर्दै आएको छ। दैनिक ८०० जना यात्रुको आवागमन हुने गरेको विमानस्थलको कार्यालयले जनाएको छ।
कि दियालो कि ठिमुरा : महानगर
भरतपुर महानगरपालिकाले पनि सेनाको ब्यारेकलाई अन्यत्रै व्यवस्थापन गर्ने हो भने विमानस्थलको बिस्तारमा समस्या नहुने बताएको छ। सेनाको ब्यारेक राख्नको लागि आँपटारीस्थित दियालो बंगला अथवा ठिमुरामा उयपुक्त जग्गा रहेको महानगर प्रमुख रेनु दाहालले बताइन्।
‘हामीले जग्गा खोज्दै जाँदा भरतपुरको १ नं. वडामा पर्ने ठिमुरामा साढे ५८ विघा सार्वजनिक जग्गा भेटियो, त्यसैलाई उपयोग गर्न सकिन्छ,’ उनले विकल्प दिँदै भनिन्, ‘अर्को कुरा आँपटारीमा रहेको दियालो बंगलालाई पनि प्रयोगमा ल्याउन सकिन्छ।’

यसो भन्छन् अन्य सरोकारवाला
पोल्ट्रविज्ञ डा तिलचन्द्र भट्टराईले भने अहिले सुरू गरेका जुनसुकै विकासका आयोजनालाई ५० वर्ष पछाडिको लागि सोचेर गर्नुपर्ने सुझाव दिए।
‘विमानस्थललाई व्यवस्थित तरिकाले बिस्तार गर्ने कुरा चलाउँदै गर्दा अबको ५० वर्षपछि के हुन्छ भन्ने योजना अहिल्यैदेखि बनाउनुपर्छ, जबकी त्यतिबेला हाम्रो सन्तानले फेरि दुःख नपाओस्,’ उनले भने, ‘विमानस्थल वरिपरि निर्माण भएका संरचनाले विमानस्थल असुरक्षित भयो भन्दै गर्दा यत्रा जनतालाई हटाउन सकिँदैन। अर्को कुरा बस्तीको बीचमा विमानस्थल राख्नु कत्तिको उचित हुन्छ भन्ने विषयमा पनि ध्यान पुर्याउनु आवश्यक छ।’
विकासमा बाधक बन्दैन : नेपाली सेना
नेपाली सेनाले भने कुनै पनि विकासको काममा सेना कहिल्यै पनि बाधक नहुने बताएको छ। ‘विकासको काममा बाधक होइन, सहकार्य गर्छ,’ नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले भने, ‘बरू एउटा प्राविधिकसहितको समिति गठन गरौँ। अनि कति जग्गा सेनाले छाड्नुपर्छ छलफल गरेर काम गरौँ।’

बस्ती उठाउन समस्या छैन : मुख्यमन्त्री
प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल भने राज्यले चाहेमा विमानस्थल वरिपरिका घर टहरो जुनसुकै बेला पनि भत्काउन सक्ने बताउँछन्। भरतपुर विमानस्थल भनेको देशकै गौरवको विषय भएकोले सरकारले चाहेमा त्यस्ता अप्ठ्यारालाई हल गर्न समस्या नरहेको उनले बताए।
‘सरकारले चाहने हो भने विकल्प दिएर बस्ती उठाउन कुनै समस्या छैन,’ उनले भने, ‘किनभने भरतपुर विमानस्थलको विकास भनेको समग्र देशकै विकासको एउटा महत्त्वपूर्ण पाटो हो।’