पुस १९ । दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार विभागीय टोली एपीएफ र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदैछन्। दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्। साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै अर्को सेमिफाइनलमा घरेलु टोली लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा एपीएफसँग भेट पक्का गरेको हो।
दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व रहेको छ। त्यसैले पनि फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। समूह चरणदेखि सेमिफाइनलसम्म दुवै टिमले एक पक्षीयरुपमा खेल जित्दै आएका थिए। यी दुई टिमको तुलनामा प्रदेशका अन्य टोलीहरु कमजोर देखिएका थिए।
राष्ट्रिय टिमका कप्तान रुविना क्षेत्रीको कप्तानीमा प्रदेश १ मैदान उत्रँदैछ भने राष्ट्रिय टिमका उपकप्तान सीता राना मगरको कप्तानीमा एपीएफले खेल्दैछ।फाइनलसम्म आइपुग्दा अपराजित रहेका दुवै टोली त्यही नतिजालाई कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छन्।
समूह ए मा रहेको एपीएफले पहिलो खेलमा कर्णालीलाई २०४ रनले हराएको थियो भने दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र तेस्रो खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो। सेमिफाइनलमा भने सुदूरपश्चिमलाई ९ विकेटले हराएको थियो।
उता समूह बी मा रहेको प्रदेश १ ले बागमतीलाई ४६ रनले पराजित गरेको थियो भने सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १४० रनले हराएको थियो। यस्तै सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गरेको थियो।
सन् २०१५ देखि सुरु भएको पीएम कप महिला क्रिकेट प्रतियोगिता चार संस्करण हुँदा एपीएफ ३ पटक उपाधि जितेको छ भने एक पटक उपविजेता भएको थियो। पहिलो संस्करणमा एपीएफ फाइनलमा जनकपुरसंग पराजित भएको थियो।
२०१६ मा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय क्रिकेट सेलेक्सन टुर्नामेन्ट पनि एपीएफले नै जितेको थियो। त्यसयता भएको पिएम कपको लगातार तीन संस्करणको उपाधि एपीएफले नै जितेको छ।
प्रदेश १ भने पहिलो पटक फाइनल पुगेको छ। एफीएफ आफ्नो च्याम्पियन साखलाई जोगाउने प्रयासमा हुनेछ भने प्रदेश १ एपीएफको यात्रालाई ब्रेक लगाउदै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ।
एपीएफमा कप्तान सीतासहित सरिता मगर, करुणा भण्डारी, इन्दु बर्मा, सोनु खड्का, ज्योती पाण्डे ममत चौधरी जस्ता खेलाडी छन्। यस्तै प्रदेश १ मा रुविना सगै काजल श्रेष्ठ, रोमा थापा, अप्सरी बेगम, सवनम राई, संगीत राई जस्ता खेलाडीहरु छन्।


























