लमजुङ, पुस १९ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको छ। जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो।
जिल्लाको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ। आयोजनाका लागि चाहिने पर्याप्त पानी मस्र्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दै जाने क्रममा हाल ३४ मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए। उनले भने, “आयोजनामा पूरै क्षमतामा विद्युत् उत्पादन हुँदै आए पनि केही समयदेखि उत्पादन घट्दै गएको र अझै विद्युत् उत्पादन घटेर २७÷२८ मेगावाटसम्म पुग्नेछ।” मध्यमस्र्याङ्दी ३५÷३५ मेगावाट क्षमताको दुई टर्बाइन गरी ७० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो।
मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका केन्द्र प्रमुख शाहका अनुसार पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ। आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ। यस आयोजनामा विगतको वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो। सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो। रु २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो।
त्यस्तै जिल्लाकै दोस्रो ठूलो आयोजना मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ। केही दिनदेखि उत्पादन १२ मेगावाट विद्युत् घटेको र अझै घट्ने क्रममा रहेको बताइएको छ। बर्सेनि विद्युत् उत्पादन झनै घट्ने गरेको र माघ महिनासम्म पुग्दा २८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए। यस आयोजनामा २५ मेगावाटसम्म विद्युत घट्ने गरेको छ। सन् २०१३ जनवरीदेखि आयोजनाको निर्माण थालनी गरी सन् २०१७ जनवरीदेखि व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो। सो आयोजना करिब रु १६ अर्बमा निर्माण सम्पन्न भएको थियो। चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ।
यी ठूला आयोजनामा मात्र नभई जिल्लाका पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनामा समेत बिजुली उत्पादन कम हुन थालेको छ। मध्यमस्र्याङ्दी, माथिल्लो मस्र्याङ्दी ‘ए’ र यी आयोजनाले बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशलाई नै उज्यालो बनाउनका लागि टेवा पुर्याइरहेको छ। ती आयोजनामा विद्युत् उत्पादन कम हुँदा आर्थिकरूपमा पनि मुलुकमै प्रभाव पारेको देखिन्छ। जिल्लामा एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् भने केही आयोजना निर्माण हुने प्रक्रियामा छन्। निर्माणाधीन रहेका आयोजनामध्ये केही आयोजनाले केही महिनाभित्रै विद्युत् उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिरहेका छन्। रासस


























